दैलेखमा कोरोनाको त्रास बढ्यो जिल्ला प्रवेश गर्ने नाकामा प्रशासनको कडाइ


चैत्र १०, दैलेख
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सन्त्रास पहाडी जिल्ला दैलेखमा पुनः बढेको छ । भारतमा कोरोनाको संक्रमण निकै बढेपछि दैलेख प्रवेश गर्ने विभिन्न नाकाहरूमा जिल्ला प्रशासन कार्यालय दैलेखले कडाइ गरेको छ । कामको खोजीमा भारत जानेहरूको संख्या अत्याधिक रहेको भारतमा काम गर्ने कामदारहरू चैत्रे दशैँ मान्न घर फर्कने क्रम बढेसँगै नाकाहरूमा कडाइ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दैलेख प्रवेश गर्ने गुराँस गाउँपालिकाको गुराँस नाका र तल्लो डुङ्गेश्वरमा हेल्थ डेस्क स्थापना सँगै चेक जाँचलाई कडाइ गर्ने भएको छ । दुवै नाकाबाट यातायातका साधनमार्फत कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला र मुगु जानका लागि प्रयोग भएका छन् ।
बैठकले सबै सार्वजनिक निकायहरूमा सेवा प्रवाहका विषयमा अनिवार्य मास्कको प्रयोग गर्ने, जिल्लामा यसअघि व्यवस्थापन गरिएका क्वारेन्टाइनहरु पुनः स्थापनाका लागि तयारी थालनी गर्ने, आइसोलेसन नभएका स्थानीय तहले पुनः व्यवस्थापन गर्ने, होली लगायतका विभिन्न पर्वहरूमा हुने जमघट न्यून गर्ने, भेला समारोहमा भीड जम्मा नगर्ने, नगराउने, दैलेखका ११ वटै पालिकाहरूमा भारत लगायतका मुलुकहरूबाट आउने नागरिकहरूलाई पुनः सुरक्षित रूपमा बस्न, मास्क लगाउन आग्रह गर्दै वडा वडामा आएका नागरिकहरूको लगत संकलन गरेर जिल्ला प्रशासन कार्यालय दैलेखमा पठाउन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
दैलेख जिल्लामा भारतबाट दैलेख आउने नागरिक मार्फत कोरोना संक्रमण फैलिन सक्ने जोखिमको मध्यनजर गर्दै एन्टिजीन किड मार्फत चेक जाँचको कार्य तत्काल थालनी गर्ने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् । दैलेखमा हालसम्म १ हजार ४ सय ९८ जना कोरोना संक्रमित मध्ये ६ जनाको मृत्यु भएको र अन्य सबै १ हजार ४ सय ९२ जना निको भएको रेग्मीले जानकारी दिएका छन् ।

विद्यार्थीलाई रुघाखोकी देखिएपछि विद्यालय बन्द

विद्यालय सञ्चालन भइरहेको र मौसम परिवर्तन समेत भएकोले दैलेखका नारायण नगरपालिका ४ धिताहा सोतको विद्यालय ३ दिनका लागि बन्द गरिएको छ । बिद्यार्थीहरुमा रुघाखोकीको समस्या देखिएपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै विद्यालय बन्द गरिएको छ । सामान्य रुघाखोकी लागेमा अनिवार्य मास्क प्रयोग गर्ने र तातोपानी सेवन गरेर सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले सबैलाई आग्रह गरेको छ ।
दैलेखको बेलपाटा प्रा.बि.मा पनि छात्रा बिद्यार्थीहरु एकाएक ढल्न थालेपछि विद्यालय बन्द गरिएको छ । मानसिक रूपमा तनाव बढेपछि यस्तो हुन सक्ने भन्दै बन्द गरिएको विद्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार